Sunday, September 28, 2014

दशैं

-भूपी शेरेचन
अब त दसैँ ...
साँच्ची कै दशा भएको छ
न छोरालाई हङकङको ज्याकेट किनिदिन सकियो
न छोरीलाई बैङ्कके जुत्ता;
धरहरा–बजारबाट घटीघटाउ गरेर
कात्तिकको पेस्की तलबभित्र किनमेल
कटाउ गरियो ।
खानामा सेलरोटी कहाँ पाउनु !
सप्तमीमा किनिराखेको पाउरोटी टोकियो,
पmलफूल पनि खाइयो ...
भोगटे बारीमै थियो,
एक दर्जन औँलाजत्रा केरा पनि,
सपरिवार खाइयो,
आठ रुपियाँ दर्जनमा किनेर !
मलाई त के ! हाइ सन्चो छ
‘डाइबिटिजको रोगी
न मासुको भारी !
परिवारले पनि चित्त बुझायो
बूढा च्याङ्ग्राको छाला चपाएर ।
अब तपाइँहरू नै भन्नोस,
यस्तोमा के काम चहाड आएर ?
हुनेलाई तीन सय पैँसट्ठी दिन नै दसैँ छ,
नहुनेलाई वर्षभरि दशा छ ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ ।

कवि भूपी शेरचनद्वारा रचित दसैँ कविताको एक अंश । यो कविता हिन्दू साप्ताहिक पत्रिकाको (वर्ष ५, अंक २४)मा प्रकाशित भएको थियो

Tuesday, September 16, 2014

आखिर मैले के पाएँ ???

-प्रेम श्रेष्ठ (जोगी)
(Sept-15-2014)
11:40Pm

सदरमुकाम धाएँ
नागरिकता पाएँ
पासपोर्ट बनाएँ
दलाल'को मा धाएँ
काठमाण्डु आएँ
म्यानपावर धाएँ
ऋण कमाएँ
अनि,
मरुभूमि आएँ
आफन्त गुमाएँ
देश गुमाएँ
मातृप्रेम गुमाएँ
दाजु-भाई गुमाएँ
साथी गुमाएँ
जवानी गुमाएँ
उनको साथ गुमाएँ 
बच्चाको त्यो मुस्कान गुमाएँ
अन्त्यमा,
कागजका केही "नोट कमाएँ"
केही कागजी टुक्राको खाँतिर
मैले मेरो पुरै "जिन्दगी गुमाएँ "!!! 
आखिर "खै त मैले के पाएँ ???? " 

तराई मुद्दा र सी.के. राउत


स्वतन्त्र र सार्भभौम मधेष प्रदेशको स्थापनालाई नै आफ्नो मूल नीति बनाएका सिके राउतको (CK Raut) कार्य नेपालको राष्ट्रिय अखण्डताको विरुद्ध छ, तसर्थ उनलाई देशद्रोहीको रुपमा कारवाही गरिनुपर्छ। तर, यो सँगै उनले
उठाएका मुद्दाहरूलाई पनि ध्यान दिनु जरुरी छ किनकी मुद्दा जिवित रहेमा एक पछि अनेकन् सिके राउतहरूको जन्म हुनेछ।

के अहिले पनि तराइवासी जनताले आन्तरिक उपनिवेश भएको महशुस गर्नुपर्ने अवश्था छ?
- पहिले थियो होला। तर अहिले नेपाल सरकारले तराईका जनताहरूलाई राज्यको मुलधारमा ल्याउन सरकारी सेवा सुविधामा आरक्षणको समेत व्यवश्था गरिएकोले अब सिके राउतको यस आरोप आधारहिन बनेको छ।

सिके राउतको अर्को मुद्धा "तराईका जनतामाथि पहाडीहरूबाट भइरहेको भेदभावपुर्ण व्यवहार (racial discrimination)"
- यस विषयमा उनको मुद्दा जायज छ किनकी आज पनि तराईका जनताहरूमाथि पहाडी जनताबाट हुने अपहेलना रोकिएको छैन।

त्यसैले, 'भेले' 'धोती' जस्ता शब्दको प्रयोग गरेर तराइका दाजुभाइ दिदीबहिनीहरूलाई जिस्काउने हेप्ने कार्य गर्दै हुनुहुन्छ भने संझिनुस्- "तपाईँ देशद्रोह गर्दै हुनुहुन्छ!" किनकी सिके राउतहरूको जन्म तपाईहरूकै यस्तै दुर्व्यवहारका कारण भएको हो।

२६ वर्ष

-लेनिन बन्जाडे

२०४० मंसिर १० गते । बुवा-आमाले गोजीमा २ हजार रूपैयाँ बोकेर हामीलाई ट्रय्याक्टरमा अर्घाखाँचीबाट दाङ झार्नुभो । अनि जिविस र अदालतको अगाडि झुप्रो होटल खोल्नुभो । आमा र दिदी गाउँमा बस्थे ।
बुवा चिया-समोसा बेच्नुहुन्थ्यो, म पढ्थें । १५ मिनेट टाढा बजारबाट पान र चुरोट ल्याएबापत खेपको १ रुप्पे पाउँथें । ३ हजारमा किनेको झुप्रो होटलमा बुवा र म एकअर्काका सहारा थियौं । बुवा काखाखुट्टी हालेर सुताउनुहुन्थ्यो, काखीको पसिनाको गन्ध मलाई मीठो लाग्थ्यो । 
० ० ०

अदालत र जिविसका कर्मचारी चिया खान आउँथे, म उनीहरुको जीवनशैली देखेर मुर्मुरिन्थें । बुवा भन्नुहुन्थ्यो, “तँ पनि वकिल भइस् भने चिया खान आएस् ।”
अनि कल्पिन्थें— म कालो कोट लगाएर हाम्रै होटलमा चिया खान आउँथे, बुवालाई पैसा दिन्थें अनि बेलुकी त्यही पैसा चोरेर गोजीमा हाल्थें !

० ० ०
हरेक शुक्रबार बुवा र म २६ किलोमिटर पर गाउँ जान्थ्यौं, जहाँ आमा, दिदी र भाइ हुन्थे । घर जाँदा म संसार जितेझैं हुन्थें । फिलिप्सको रेडियो बजेको सुनेर दिदी र भाइ दौडिएर बाटामा लिन आउँथे !
घरमा टिभी नहुँदाको हुटहुटी थियो मनमा । बुवा भन्नुहुन्थ्यो, “टिभी ल्याए तिमीहरु बिग्रन्छौ ।”
म सहज बुझ्थें- टिभी किन्ने ल्याकत थिएन हाम्रो । अनि बुवासँगै रेडियो सुन्थ्यौं दिनभरि, रातभरि ।
DAD
० ० ०

झुप्रो होटलको भित्र कतै कुना बुवा र मेरो सानो घर थियो ।
र, त्यही झुप्रोमा एकदिन आगो लाग्यो, बुवा आधा जल्नुभो । छोरोलाई बचाउँदा आफू जल्ने बाउ पहिलोपटक त्यही रात देखें ।
आधा जलेको शरीर डोर्‍याउँदै म अस्पताल लैजान्थें, ल्याउँथें । म एक्लो सहारा थिएँ बुवाको । उहाँ ज्ञानी छोरा बन्नुभएको थियो, म बाउ !
हरेक मान्छे दुईपटक जन्मिन्छ— एकपटक बाउआमाले जन्माउँछन्, एकपटक छोराछोरीका लागि जन्मिन्छन् । मेरा बुवा मेरा लागि जन्मिनुभएको थियो दोस्रोपटक !

० ० ०

होटल बेच्यौं, फेन्सी किन्यौं । आमा, दिदी र भाइ गाउँबाट सहर आए ।
पसलका लागि सामान लिन बुवा हरेक महिना काठमाडौं आउनुहुन्थ्यो । उहाँसँगै काठमाडौं घुम्नु मेरो सबैभन्दा ठूलो सपना हुन्थ्यो । विशालबजारको लिफ्ट चढेका कथा साथीहरूले सुनाउँदा म हुरूक्कै हुन्थें ।
बुवा सामान पोका पारेर बसपार्क जानुअघि म पिलपिल गर्थें । घोसेमुन्टो लगाएर आँसु खसाल्थें । बुवा एकमन मलाई हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “जा, लुगा लेर आ ।”
म भक्कानिन्थें !
काठमाडौंमा विशालबजारको लिफ्ट चढ्नु र बाटामा सलाईका खोस्टा खोज्नु मेरो एकमात्र उद्देश्य हुन्थ्यो । ती खोस्टाको मोल दाङमा ठूलो हुन्थ्यो । अझ रंगीन भए दुईगुणा बढी मूल्य । गोजाभरि सलाई बोकेर म बुवासँगै दाङ फर्किन्थें । गाडीमा उपदेश सुन्थें । एउटा उपदेश अहिले पनि सम्झन्छु, “जीवनसाथीभन्दा साथी सधैं एक तह माथि हुन्छ, साथीलाई कहिल्यै नपिराएस् !”

० ० ०

पसल र बसाइ अलि टाढा थियो । पालैपालो टिफिनमा खाना पुर्‍याउँथ्यौं बुवालाई । बेलुकी दिदी भाँडा माझ्थी, म धुन्थें । बुवा भन्नुहुन्थ्यो, “आफ्नो काम आफैं गर, तिमीहरू कम्युनिस्टका छोराछोरी हौ ।”
त्यही कम्युनिस्टको प्रभाव राख्न मेरो नाममै लेनिनको स्ट्याम्प राखिदिनुभो ! कांग्रेस भएको भए शायद बीपी राख्नुहुन्थ्यो !

० ० ०

फेन्सी बेच्यौं, गेस्ट हाउस किन्यौं । कपडा बेच्न छाडेर मान्छे सुताउन थाल्यौं ।
बुवाको आफ्नै दर्शन थियो- हामी साना छँदा कहिल्यै चुरोट र रक्सी बेच्नुभएन । समय फेरियो— जीवनले उहाँलाई ती सबथोक बेच्न बाध्य बनायो !
बुवा चिन्न मलाई २६ वर्ष लाग्यो । जब चिनें, उहाँ हजुरबुवा भइसक्नुभएको थियो !

० ० ०

सानोमा बुवा रेडियो बजाउँदै पसलबाट घर आउँदा हामी खुसीले लठ्ठिन्थ्यौं, अचेल दाङ जाँदा हामी कलंकीबाट फोन गर्छौं, बुवा लठ्ठिनुहुन्छ । पहिले दसैंमा बुवाले नयाँ लुगा किन्दिनुहुन्थ्यो, म रमाउँथें । अचेल म किन्दिन्छु, बुवा रमाउनुहुन्छ !


_________________________________________________________________________________

[बुवासँग २६ वर्ष बसें, त्यसपछि काठमाडौं आएँ, जहाँ जीवनको अर्को अध्यायले बाटो समात्यो
]