Showing posts with label लेनिन बन्जाडे. Show all posts
Showing posts with label लेनिन बन्जाडे. Show all posts

Tuesday, September 16, 2014

२६ वर्ष

-लेनिन बन्जाडे

२०४० मंसिर १० गते । बुवा-आमाले गोजीमा २ हजार रूपैयाँ बोकेर हामीलाई ट्रय्याक्टरमा अर्घाखाँचीबाट दाङ झार्नुभो । अनि जिविस र अदालतको अगाडि झुप्रो होटल खोल्नुभो । आमा र दिदी गाउँमा बस्थे ।
बुवा चिया-समोसा बेच्नुहुन्थ्यो, म पढ्थें । १५ मिनेट टाढा बजारबाट पान र चुरोट ल्याएबापत खेपको १ रुप्पे पाउँथें । ३ हजारमा किनेको झुप्रो होटलमा बुवा र म एकअर्काका सहारा थियौं । बुवा काखाखुट्टी हालेर सुताउनुहुन्थ्यो, काखीको पसिनाको गन्ध मलाई मीठो लाग्थ्यो । 
० ० ०

अदालत र जिविसका कर्मचारी चिया खान आउँथे, म उनीहरुको जीवनशैली देखेर मुर्मुरिन्थें । बुवा भन्नुहुन्थ्यो, “तँ पनि वकिल भइस् भने चिया खान आएस् ।”
अनि कल्पिन्थें— म कालो कोट लगाएर हाम्रै होटलमा चिया खान आउँथे, बुवालाई पैसा दिन्थें अनि बेलुकी त्यही पैसा चोरेर गोजीमा हाल्थें !

० ० ०
हरेक शुक्रबार बुवा र म २६ किलोमिटर पर गाउँ जान्थ्यौं, जहाँ आमा, दिदी र भाइ हुन्थे । घर जाँदा म संसार जितेझैं हुन्थें । फिलिप्सको रेडियो बजेको सुनेर दिदी र भाइ दौडिएर बाटामा लिन आउँथे !
घरमा टिभी नहुँदाको हुटहुटी थियो मनमा । बुवा भन्नुहुन्थ्यो, “टिभी ल्याए तिमीहरु बिग्रन्छौ ।”
म सहज बुझ्थें- टिभी किन्ने ल्याकत थिएन हाम्रो । अनि बुवासँगै रेडियो सुन्थ्यौं दिनभरि, रातभरि ।
DAD
० ० ०

झुप्रो होटलको भित्र कतै कुना बुवा र मेरो सानो घर थियो ।
र, त्यही झुप्रोमा एकदिन आगो लाग्यो, बुवा आधा जल्नुभो । छोरोलाई बचाउँदा आफू जल्ने बाउ पहिलोपटक त्यही रात देखें ।
आधा जलेको शरीर डोर्‍याउँदै म अस्पताल लैजान्थें, ल्याउँथें । म एक्लो सहारा थिएँ बुवाको । उहाँ ज्ञानी छोरा बन्नुभएको थियो, म बाउ !
हरेक मान्छे दुईपटक जन्मिन्छ— एकपटक बाउआमाले जन्माउँछन्, एकपटक छोराछोरीका लागि जन्मिन्छन् । मेरा बुवा मेरा लागि जन्मिनुभएको थियो दोस्रोपटक !

० ० ०

होटल बेच्यौं, फेन्सी किन्यौं । आमा, दिदी र भाइ गाउँबाट सहर आए ।
पसलका लागि सामान लिन बुवा हरेक महिना काठमाडौं आउनुहुन्थ्यो । उहाँसँगै काठमाडौं घुम्नु मेरो सबैभन्दा ठूलो सपना हुन्थ्यो । विशालबजारको लिफ्ट चढेका कथा साथीहरूले सुनाउँदा म हुरूक्कै हुन्थें ।
बुवा सामान पोका पारेर बसपार्क जानुअघि म पिलपिल गर्थें । घोसेमुन्टो लगाएर आँसु खसाल्थें । बुवा एकमन मलाई हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “जा, लुगा लेर आ ।”
म भक्कानिन्थें !
काठमाडौंमा विशालबजारको लिफ्ट चढ्नु र बाटामा सलाईका खोस्टा खोज्नु मेरो एकमात्र उद्देश्य हुन्थ्यो । ती खोस्टाको मोल दाङमा ठूलो हुन्थ्यो । अझ रंगीन भए दुईगुणा बढी मूल्य । गोजाभरि सलाई बोकेर म बुवासँगै दाङ फर्किन्थें । गाडीमा उपदेश सुन्थें । एउटा उपदेश अहिले पनि सम्झन्छु, “जीवनसाथीभन्दा साथी सधैं एक तह माथि हुन्छ, साथीलाई कहिल्यै नपिराएस् !”

० ० ०

पसल र बसाइ अलि टाढा थियो । पालैपालो टिफिनमा खाना पुर्‍याउँथ्यौं बुवालाई । बेलुकी दिदी भाँडा माझ्थी, म धुन्थें । बुवा भन्नुहुन्थ्यो, “आफ्नो काम आफैं गर, तिमीहरू कम्युनिस्टका छोराछोरी हौ ।”
त्यही कम्युनिस्टको प्रभाव राख्न मेरो नाममै लेनिनको स्ट्याम्प राखिदिनुभो ! कांग्रेस भएको भए शायद बीपी राख्नुहुन्थ्यो !

० ० ०

फेन्सी बेच्यौं, गेस्ट हाउस किन्यौं । कपडा बेच्न छाडेर मान्छे सुताउन थाल्यौं ।
बुवाको आफ्नै दर्शन थियो- हामी साना छँदा कहिल्यै चुरोट र रक्सी बेच्नुभएन । समय फेरियो— जीवनले उहाँलाई ती सबथोक बेच्न बाध्य बनायो !
बुवा चिन्न मलाई २६ वर्ष लाग्यो । जब चिनें, उहाँ हजुरबुवा भइसक्नुभएको थियो !

० ० ०

सानोमा बुवा रेडियो बजाउँदै पसलबाट घर आउँदा हामी खुसीले लठ्ठिन्थ्यौं, अचेल दाङ जाँदा हामी कलंकीबाट फोन गर्छौं, बुवा लठ्ठिनुहुन्छ । पहिले दसैंमा बुवाले नयाँ लुगा किन्दिनुहुन्थ्यो, म रमाउँथें । अचेल म किन्दिन्छु, बुवा रमाउनुहुन्छ !


_________________________________________________________________________________

[बुवासँग २६ वर्ष बसें, त्यसपछि काठमाडौं आएँ, जहाँ जीवनको अर्को अध्यायले बाटो समात्यो
]

Saturday, July 26, 2014

खुत्रुके

‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन। हुन्छ?' झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो।
सरर्र पढेँ। पढ्नु के थियो, मञ्जुरीले टाउको हल्लाएँ।
‘ल ह्याँ सही गर्नूस्,' गोजीबाट कलम निकालेर दियो, ‘आफ्नो घरजस्तै सम्भि्कनू।'
पुछारमा ‘दोस्रो पक्ष' लेखिएको ठाउँनेर सही धस्काएँ।
१२ बुँदे कागजमा ११ वटा बुँदा बूढाकै पक्षमा थिए। बाह्रौंमा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ।'
लेखिने कुरा त्यस्तै हुन्। ऐन–नियम पनि लेखिएकै त हुन्, सबैभन्दा धेरै मिचिने पनि तिनै हुन्। म पनि यस्ता नियम मिच्ने सोचेर ढुक्क भएँ। मलाई बस्– कोठा पाउनु थियो, पाएँ।

Friday, July 11, 2014

मकै

- लेनिन बञ्जाडे
थापाथली चोक, अलि पल्तिर बडेमानको बागमती पुल र त्योभन्दा अझै पल्तिर कुपन्डोलको एउटा घरमाथि झुन्डिएको ‘कोही मिलगया’को पोस्टर । पुलमाथि घरि यता घरि उता गरिरहने रंगीबिरंगी सवारी र तिनमाथि कुदिरहेका असंख्य सपना ।
र, यता वल्तिर सडकछेउ तन हल्लाउने तन्दुरीको धुवाँ ।
अनि, अलि वल्तिर पट्पट् पड्किरहने मकै र झुम्म परिरहने मान्छेको भीड । त्यो भीड, जो हरेक मिनेटमा फेरिइरहन्थ्यो ।
यो लगातार तेस्रो दिन थियो ।
गोजीमा १० हजार लिएर काठमाडौं छिरेको भर्खरको १८ वर्षे किशोर त्यै मकैको भीडबाहिर रेलिङमा अडेस लागेर बसिरहृयो तीन दिनदेखि ।


फिलिम

- लेनिन बञ्जाडे

“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….”

दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो । ‘फूल और काँटे’ आएदेखि रमेश र मेरो मनमा सानोतिनो हुन्डरी ल्याएको थियो अजयले । नयाँ वर्ष र दसैंका शुभकामना कार्डमा अजयले बन्दुक भिरेका पोस्टकार्डले सहर पिटेको थियो । रमेश र म त्यसका डाइहार्ट फ्यान ।

“विद्यानाश ?”


Sunday, July 6, 2014

नाममा के छ र !

- लेनिन बञ्जाडे
माघको कठ्याङ्ग्रिने चिसो । चिसोमा झनै चिसियो मन,
जब—
समीरले कानैमा आएर फुस्फुसायो, “राधिकालाई त शिवेले लाने भो, तँ हेर्दाहेर्दै गइस् खोलैखोला ।”
“हँ? के भन्छस् बे ? फुस्किस् ?”
“हो बे हो, शिवे र राधिका आज सँगै कलेज आए बिहान ।”
“हात समा’थे ?”
“हात त समा’थेनन् तर खुप मस्क्या’थे बाटामा । बरु सक्चस् भने आजै दे चिठी, नत्र शिवेले जिप्टायो, स्योर !”
गोजीभित्र बडो जतनले पट्याएर राखेको चिठीले भत्भती पोल्न थाल्यो । चिठीका अक्षरले पालैपालो घोच्न थाले । रातभरि बसेर कनिकुथी लेखेको दुई पेजको चिठी