Showing posts with label भूपी शेरचन. Show all posts
Showing posts with label भूपी शेरचन. Show all posts

Sunday, September 28, 2014

दशैं

-भूपी शेरेचन
अब त दसैँ ...
साँच्ची कै दशा भएको छ
न छोरालाई हङकङको ज्याकेट किनिदिन सकियो
न छोरीलाई बैङ्कके जुत्ता;
धरहरा–बजारबाट घटीघटाउ गरेर
कात्तिकको पेस्की तलबभित्र किनमेल
कटाउ गरियो ।
खानामा सेलरोटी कहाँ पाउनु !
सप्तमीमा किनिराखेको पाउरोटी टोकियो,
पmलफूल पनि खाइयो ...
भोगटे बारीमै थियो,
एक दर्जन औँलाजत्रा केरा पनि,
सपरिवार खाइयो,
आठ रुपियाँ दर्जनमा किनेर !
मलाई त के ! हाइ सन्चो छ
‘डाइबिटिजको रोगी
न मासुको भारी !
परिवारले पनि चित्त बुझायो
बूढा च्याङ्ग्राको छाला चपाएर ।
अब तपाइँहरू नै भन्नोस,
यस्तोमा के काम चहाड आएर ?
हुनेलाई तीन सय पैँसट्ठी दिन नै दसैँ छ,
नहुनेलाई वर्षभरि दशा छ ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ ।

कवि भूपी शेरचनद्वारा रचित दसैँ कविताको एक अंश । यो कविता हिन्दू साप्ताहिक पत्रिकाको (वर्ष ५, अंक २४)मा प्रकाशित भएको थियो

Sunday, July 20, 2014

भूपी शेरचनको अप्रकाशित कविता

भूपी शेरचन 

हो, म एक्लै छु, तर, मेरो साथ दिने 
मसँगै सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

मेरो चोक

- भुपी शेरचन

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ । 
असंख्य रोग छ,
अनन्त भोक छ,
अशिम शोक छ,
केबल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।

Friday, July 11, 2014

नयाँ वर्ष

-भूपी शेरचन

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले

मध्याह्न दिन र चिसो निद्रा

- भूपी शेरचन

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा

जीवनको अँध्यारो सडकमा

-भूपी शेरचन

जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनोमाबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रुक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ ।

Friday, July 4, 2014

यो हल्लै हल्लाको देश हो

-भूपी शेरचन
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन,

घुम्ने मेचमाथि अन्धो मान्छे

- भूपी शेरचन

सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि