Friday, July 4, 2014

यो हल्लै हल्लाको देश हो

-भूपी शेरचन
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन,

काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन
र जहाँ प्लास्तर गरिएका हातहरुमा
सुरक्षाको सङीन थमाइन्छ,
जहाँ बाटो र अत्तालिकाहरुका ढोकाअगाडि
डोकोका डोको,
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मन्डी सजाइन्छ,
स्टाक एक्स्चेन्जका शेयरजस्तै
आत्मा क्रय-विक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छ
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको 'वाश एन वियर क्रिज'कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै पाप गरेको वेश्याको पनि
अनुहारको तेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ बागमती र बिष्णुमतीका साटोमा
अब बियर र व्हिस्की बग्दछन,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भुनाथका मन्दिरको उपयोग
तिनका प्रशाद खानमा कम,
तिनका पछाडिका वनहरुमा
आडम इभको 'वर्जित फल' खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैंसमै कुन्जिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाईडले टुरिष्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन
टाइ र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए देशवासीहरु हो
ए मेरा देशका राष्ट्र-कविहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घ्रिनाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशका असँख्य बगरहरुमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ
यही भावनाले मलाई यो भन्न वाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि 'यो हल्लै हल्लाको देश हो'
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थूप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।



0 comments:

Post a Comment

plz give your view