-भैरब अर्याल
नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा
नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ
भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर
निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ एकै पटक खङ्र्याङखुङ्रुङ
भइहाले । स्वास्नीलाई ‘नेपाल-सुन्दरी’ बनाउन पाए आफू पनि ‘नेपाल-सुन्दर’भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कति
श्रीमान्हरुको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाए बङ्गला बनाउन
पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासि खोसुवा पुर्जी पाउँदा भत्किन्छ ।
सरकारी सहयोग वा विदेशी सहायता पाउने भएको भए मैले अध्यक्ष
त के अध्यक्षको पी. ए. पनि बन्न पाउने थिइनँ । सके उम्मेदवार-उम्मेदवारमा
कुस्ताकुस्ती र भुत्लाभुत्ली नै परेर कान्तिपुरबाट झुन्डिएको टाउको क्रान्तिपुरमा
पुगी छ्यालब्याल हुन्थ्यो । तर, विकृति प्रतियोगिताको लागि
विदेशी सहायता पाउने त आसै थिएन, सरकारी सहयोग पाउने छाँट पनि कमै देखिन्थ्यो
। एउटै मात्र सम्भावना के थियो भने प्रस्तावित प्रतियोगितामा आफ्नो मान्छे कोही
पहिला गराउन सकियो भने उसलाई विदेशबाट निम्तो आउँथ्यो र आफू पनि पछि लाग्न
पाइन्थ्यो । तर, अपसोच ! विकृति
प्रतियोगितामा भाग लिने योग्यता पुगेका मान्छे आफ्नो भन्नु कोही थिएन । त्यसैले
पनि हो कि त म निर्विरोध अध्यक्ष भएँ ।
अध्यक्ष त भइयो, तर कामको जिम्मेवारी पनि थाप्लोभरि परिहाल्यो
। अध्यक्षले काम गर्नु पर्दैन भन्ने चलनअनुसार मैले पनि मेचमा मात्र बस्न नखोजेको
त होइन, तर कामको जिम्मेदारीजति
जम्मै मैलाई सुम्पी सदस्यहरु कता लागे कता ! तलबभत्ता पाइने भएको भए मैले पनि
नजानेको त कहाँ थिँए र ! मिटिङ गर्दागर्दै पाँच बर्ष बिताइदिन्थेँ- विधान कमिटी
बनाई मस्यौदा गर, पास गर, नियम बनाऊ, सबतिर सम्पर्क राख, देशमा विकृतिहरुको सङख्या कति छ तथ्याङ्क
लेऊ, तिनमा केकस्ता विकृति छन् परीक्षण गर, वर्गीकरण गर, विज्ञापन गर, लिखित मौखिक अन्तर्वार्ता गर, पाल किन्ने टेन्डर देऊ, दरी किन्न कललत्ता पुग, टिकट छाप्न बेलाइत पुग, कतत काम छन् कति । विश्वामा सबभन्दा पहिले
हुन लागेको विकृति प्रतियोगिता भएकोले कुनकुन देशबाट कस्ताकस्ता पर्यवेक्षक
बोलाउनुपर्ने हो- त्यो पनि विचार गर्नुपर्यो र सबैभन्दा ठूलो काम चन्दा सङ्कलन
गर्नुपर्यो । तर, तलब न भत्ताको अध्यक्ष
भएकोले काम लम्ब्याएर पनि आफूलाई कुनै फाइदा थिएन । त्यसैले भोलिपल्ट बिहानैदेखि म
कस्ताकस्ता विकृत चरित्रलाई प्रतियोगितामा भाग लिन दिने भनी घोत्लिन थालेँ ।
थालेको मात्र के थिएँ, एक जना भद्रभलादमी
बाहिरदेखि चिच्च्याउँदै पस्नुभयो- “बधाई अध्यक्षज्यू,बधाई ! तपाईं कमिटीको अध्यक्ष हुनुभएको कुरा सुन्दा मलाई
मुटुको जरैदेखि खुसी लागेको छ । अहिलेसम्म देशमा हजार थरी कमिटी बने होलान् तर
यहाँजस्तो योग्य अध्यक्षचाहिँ कुनै कमिटीले कहिल्यै पनि पाएको थिएन । मैले त
आजभन्दा ठीक दस वर्षअघि, जुन दिन तपाईंको र मेरो
कुमारीचोक अड्डामा भेटघाट भएको थियो, त्यसै दिन तपाईंको निधारको कोठी देखेर मलाई
लागेको थियो- “एक न एक दिन तपाईं ठूलो मान्छे हुनुहुन्छ, नभन्दै भइहाल्नुभयो ।” दस वर्षअघि एक पटक चुरोट सल्काउँदा चिनेका
मान्छेले दस वर्षपछि घरैमा आएर त्यत्रो खुसी प्रकट गरेको देख्ता मलाई पनि ठूलै
मान्छे भएछु कि भनेजस्तो लाग्यो र गम्भीरतासाथ उनलाई भनेँ- “अब तपाईंको सहयोग पाउनुपर्छ ।” उनले भने- “त्यही सहयोग गर्ने मौका मिल्छ कि भनेर त म
आएको । सबै काम अध्यक्षले मात्र गरेर साध्यै हुँदैन,महासचिव चाहिएला । मजस्तो महासचिव भए तपाईंलाई पनि सुबिस्तै
हुन्थ्यो ।”
पच्चीस आना फटाहा कुरालाई पचास आना दुरुस्त पार्दै चिल्लो
घसेर महासचिव माग्न आउने उनी कम योग्यताका थिएनन् । मैले सामान्य आश्वासन दिइ
पठाएँ । त्यस दिनदेखि मकहाँ दरखास्तको ओइरो चल्न थाल्यो, दर्शनार्थीको धुइरो चल्न थाल्यो । कोही
सचिवको पद माग्थे त कोही प्रोक्योरमेन्ट अफिसरको;कसैले कोषाध्यक्षको पद मागे त कसैले एकाउन्टेन्टको । मेरो
घर नयाँ खुलेको कर्पोरेसनजस्तै भयो । भनूँ भने ठूलाबडाको इन्सल्ट हुने डरले मात्र
नभनेको, नत्र एक जना
मन्त्रीज्यूले समेत फोन गरेर आफ्नो एक जना मान्छेलाई मेरो पियन भर्ना गरिदिए
हुन्थ्यो भन्ने आशय पनि प्रकट गरे ।
कमिटीको उद्देश्य कता, लक्ष्य कता । जताबाट हेरे पनि पदैको माग । पद
त जति भने पनि बनाइदिनु हुन्थ्यो, तलब दिने कताबाट ? मजस्ता हरिलम्फू बेकार को थिए र बिनातलबभत्ता
समाजसेवाको लागि खटिन्थे ? तलब दिने जागिर मसँग छैन भन्नासाथ मेरा सबै
आवेदक र आगन्तुकहरु त्यसै गरी नै भागे,जसरी मन्त्री खोसिएपछि उनकहाँ दिनहुँ धुइरिरहने मान्छे
आफ्नोआफ्नो बाटो लाग्छन् । चिठी आदानप्रदान गर्नेसम्म मान्छे नपाएर मैले आफ्नै
भतिजालाई लगाउनुपर्यो । यस्तै एक दिन भतिजाले विदेशबा आएको एउटा चिठी ल्याएर
साथीभाइहरुको मुखिन्जेल मेरो अगाडि राखिदियो । “ल हेर, अध्यक्ष हुनु कता छ कता, विदेश-भ्रमणको निम्ता आइसक्यो” भनी एक जनाले प्वाक्क भन्यो पनि । तर वास्तवमा चिठी मेरो हो कि होइन- मलाई
सन्देहै थियो । विदेशबाट चिठी लेख्ने मेरो इष्टमित्र कोही पनि छैनन् भनेर
साथीहरुको अगाडि पुङमाङ किन भइहालूँ भन्ने ठानी मैले चिठी खोल्न हतपतचाहिँ गरिनँ ।
भोलिपल्ट अखबारमा निस्कियो- ‘विकृत प्रतियोगिता कमिटीका
अध्यक्षलाई फलानो देशको फलानो संस्थाबाट निम्ता ।’ म अध्यक्ष भएकोमा मुटुको
जरैदेखि खुसी भएर बधाई टक्य्राउन आउने उनै परम मित्रले दुई हात लामो वक्तव्य
निकालेर भने-“त्यो अध्यक्ष चोर हो, त्यसले नातावाद गरेर आफ्नै भतिजालाई महासचिव
राखेको छ” इत्यादि ।
अर्कोले टिप्पणी गर्यो– “विकृत
प्रतियोगिता कमिटीमा अविकृत मनोवृत्तिको मान्छे अध्यक्ष हुनु पच्चीसै आना अयोग्य
हो । त्यसैले उसलाई तुरुन्तै निकालेर अर्को अध्यक्ष राख्नुपर्छ ।” यस्तो टीकाटिप्पणी चल्दाचल्दै एक दिन अखबारमा
विज्ञापन निस्क्यो-“विशुद्ध विकृतहरुको प्रतियोगिता गराउने
उद्देश्यले श्री शकुनी शर्माको अध्यक्षतामा एउटा नयाँ कमिटी गठित भएको छ, जसको सदस्यमा सर्वश्री गालीबहादुर पाण्डे, मूढेवीर डङ्गोल, कुत्ताकाजी प्रधान, मूर्खराज गुरुङ र कन्सुत्सलासिंह कायस्थ पनि
हुनुहुन्छ ।”
यो सुनेपछि समाजसेवा गरेर ख्याति कमाउन अध्यक्ष भएको म
स्वयंले आफूसित रहेको त्यो महत्वपूर्ण विदेशी चिठी नयाँ अध्यक्षलाई बुझाइदिएँ, जुन वास्तवमा मेरो नभई मेरो नाम भएको अरु
कसैको थियो र भित्र लेखिएको थियो- “तपाईंसँग आलमुनियम कम्पनीको दुई हजार रु. बाँकी भई
अहिलेसम्म नतिरेकोले तुरुन्त पठाइदिनुहोला ।”
बडो विकृत अनुहारले पत्र च्यात्दै नयाँ अध्यक्षले विकृत
प्रतियोगिता कमिटीको पदभार ग्रहण गर्नुभयो । म ढाक्रेको ढाक्रे नै रहेँ ।
0 comments:
Post a Comment
plz give your view