Saturday, July 26, 2014

खुत्रुके

‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन। हुन्छ?' झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो।
सरर्र पढेँ। पढ्नु के थियो, मञ्जुरीले टाउको हल्लाएँ।
‘ल ह्याँ सही गर्नूस्,' गोजीबाट कलम निकालेर दियो, ‘आफ्नो घरजस्तै सम्भि्कनू।'
पुछारमा ‘दोस्रो पक्ष' लेखिएको ठाउँनेर सही धस्काएँ।
१२ बुँदे कागजमा ११ वटा बुँदा बूढाकै पक्षमा थिए। बाह्रौंमा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ।'
लेखिने कुरा त्यस्तै हुन्। ऐन–नियम पनि लेखिएकै त हुन्, सबैभन्दा धेरै मिचिने पनि तिनै हुन्। म पनि यस्ता नियम मिच्ने सोचेर ढुक्क भएँ। मलाई बस्– कोठा पाउनु थियो, पाएँ।



...
नाम : सोहनलाल
ठेगाना : कीर्तिपुर
उमेर : ५६ वर्ष
काम : पैसा उठाउने र घरको तला थप्ने।
बूढाको बायोडाटा यत्ति थियो। र, यसमा थपिने सम्भावना सायद थिएन पनि। २०६२ फागुनमा कीर्तिपुर पाइला टेक्दा सोहनलालको घर तीनतले थियो। मैले संयोगवश पहिलो तलामा एउटा कोठा पाएँ।
भर्खर ब्याचलर सकेर दाङबाट कीर्तिपुर पढ्न आउने थुप्रैको भीडमा म एउटा थिएँ। त्यो ग्याङमा आधाजसो समाजशास्त्री बन्नेवाला थिए, आधा अंग्रेजी भाषाविद्।
र, म समाजशास्त्री बन्दै थिएँ।
नाइट बस चढ्नुअघि मेरो सम्भावित रुम पार्टनरलाई औंलो ठड्याएर सतर्क गराएको थिएँ। पकाउनुजस्तो पट्यारलाग्दो र नीरस काम जिन्दगीमा अरू केही थिएन र छैन पनि। भएभरको तरकारी केलाउनु, धुनु, काट्नु, पकाउनु, मसला हाल्नु, नुन–बेसार छर्किनु, मिठो भयो/भएन चाख्नु अनि गजधम्म परेर बस्नेलाई पस्किएर खुवाउनु!
कसले गरोस्!
पराँतमा भाँडा लिएर इनार झर्यो , मस्कायो अनि पखाल्यो। १५ मिनेटमा तमाम।
समाजशास्त्र पढ्न बसमा झिटीगुन्टा कोचेर नाइट बसको सिटमा बस्दा काठमान्डूको उदेकलाग्दो गन्ध सम्झेर मन बटारियो। शरीरले यो बिरानो सहरका हरेक गन्ध सोसिसकेको थियो एकफेर। आफ्नै देशको माटो पनि यसरी किन गन्हाउँछ होला? किन मान्छेहरू माटो सम्भि्कएर रुन्छन्? काठमान्डूको माटोमा बास्ना छैन, गन्धमात्रै छ– त्यही बुझेको थिएँ।
र, मैले काठमान्डूको माटोमा कहिल्यै सुगन्ध भेटाइनँ।
त्यही विरक्तलाग्दो माटोमा गएर अब हरेक दिन बिहान र साँझ भाँडा धस्काउनु थियो।
भाँडा धस्काउने र खाना पकाउनेबाहेक मेरो रुम पार्टनरसँग अर्को पनि मौखिक सहमति भएको थियो– काठमान्डूमा सँगै बसुन्जेल चामल उसले घरबाट ल्याउने, भाडा मैले तिर्ने। भाडा– यानेकि १२ सय रुपैयाँ। दाङको जागिरबाट बचेको केही हजारले थुप्रै महिना भाडा चल्थ्यो।

...
बैना बुझाएको अर्को दिन झिटीगुन्टा बोकेर भर्यााङ उक्लिँदा सोहनलालले पहिलो इम्प्रेसन पारे।
‘स्टोभ ल्याको छ कि छैन?'
‘छैन, ग्यास किनेको छु।'
‘ए! स्टोभ बाल्न पाइन्न है। घर भर्खर रंगाको छ,' बोले, ‘भित्ता कालो भयो भने आफैं रङ लगाउनुपर्छ।'
‘हस्,' चुपचाप भर्या्ङ उक्लिएँ।
सोहनलाल फेदमै बसिरह्यो। सामान बोकेर ढोका छिर्ने प्रत्येकलाई त्यही सोध्थ्यो। सबैले चुपचाप मुन्टो हल्लाएर सकार्थे।
पछि सोहनलालकी बूढी पनि देखिई भर्यारङमै। सेतै फुलिसकेकी बूढीले सोहनलालसँग आफ्नै लबजमा केके भनी। बाँसघारीमा सारौं कराएजस्तो थियो आवाज– तिखो।
बूढो भर्याकङ उक्लिएर कोठा नम्बर दसअगाडि ठिंग उभियो।
‘भाइ, यता सुन्नूस्,' टाटेपाटे बाक्लो स्वेटर र खरानी रङको पाइन्ट लगाएको सोहनलालले बोलायो, ‘फागुन र चैतको पैसा पूरै दिनूस्। हिजोको बैना कटाएर बाइस'से।'
झसंग भएँ।
‘दुई–चार दिनमा दिए हुँदैन? सामान धेरै किन्नुछ,' मैले गोजीको अन्दाज पाइसकेको थिएँ। चम्चादेखि ग्याससम्म, रुमालदेखि सिरकसम्म किन्दा गोजी रित्तिसकेको थियो।
म बोलिनसक्दै बूढी टुप्लुक्क आइपुगी। तौलमा सोहनलालभन्दा ठ्याक्कै आधा। स्वरजस्तै ज्यान पनि मसिनो। फेरि आफ्नै लबजमा च्याङच्याङ गरेर बोली। मैले ‘मखलः' बाहेक केही बुझिनँ।
‘हुन्न,' जड भएर बोल्यो, ‘घर फिनिसिङ गर्न बाँकी छ, फोन लाइन पनि तान्नुछ। आजै चाहिन्छ।'
मनमनै हिसाब गरेँ। आउँदा गोजीमा २० हजार थियो। सरसामान किन्दा १४ हजार सकिएको थियो। बैना एक हजार बुझाइसकेको थिएँ। बाँकी पाँच हजार। २२ सय दिने हो भने म त भोकै हुन्थेँ एक हप्तापछि।
उपाय केही थिएन। कालो अनुहार लगाएर विन्ती गरेँ।
‘सर, आज एक हजार राख्नुस्, दुई–तीन दिनमा पैसा आउँदै छ अनि दिन्छु नि, हुन्छ?'
सोहनलालले बूढीतिर पुलुक्क हेर्योा। फेरि च्याङच्याङ केके भनी। बूढो मतिर फर्क्यो।
‘चौथो दिन नजाओस् नि!'
मैले हत्त न पत्त हुन्छ भनेर मुन्टो हल्लाएँ।
बूढोले भोलिपल्ट सबै पाँच वटै कोठालाई पायक पर्ने ठाउँमा डेढ सयको फोन सेट ल्याएर राखिदियो। उठाउनमात्रै मिल्ने, डायल गर्न नमिल्ने! त्यस्तो फोन मैले अहिलेसम्म देखेको थिइनँ। डायलै गर्न नमिल्ने फोन पनि हुन्छ?
हुने रहेछ।
सबैले पिसिओबाट फोन गरेर घरमा नम्बर टिपाए। पाँच वटा कोठाका १० परिवार।
त्यसपछि सुरु भयो घन्टीको चर्तिकला।
बजेको बज्यै गर्ने। सुरुसुरुमा त घन्टी बज्दा मन फुरुंग हुन्थ्यो। एक घन्टी बजेर नसकिँदै कुद्थेँ उठाउन। आफ्नो नभएपछि चिच्याएर बोलाउँथेँ। पछि घन्टी बज्यो कि कन्चट फर्फराउन थाले। एकाग्र भएर सुतिरहेका बेला पूरै घरै थर्किने घन्टीले कैयौंपटक निद्रा खलबलियो।
आवाज त ल सहियो। फोन उठाएर कानमा राखेपछि अर्को ताण्डव हुन्थ्यो। रेडियो नेपाल बजेको बज्यै गर्ने! उताबाट बोलेको आधामात्र बुझिने, आधा रेडियो नेपाल।
कहिलेकाहीँ त कामै नभएपछि फोन उठाएर गीत सुन्न थालेँ। बीचबीचमा कतैकतै ‘हेलो–हेलो' भनेको पनि सुनिन्थ्यो। क्रस कनेक्सन होला भनेर गीतमै ध्यान दिन्थेँ।
एक दिन बिहान सोहनलाल जर्फरिँदै आएर ढोका ढकढकायो। जुत्ता खोलेर भित्र आयो। कोठामा एक्लै थिएँ। सँगै बस्ने साथी गर्लफ्रेन्ड लिएर दक्षिणकाली कुदेको थियो बिहानै। छेउछाउका कोठा सबै बन्द थिए। कोही उठेका थिएनन्।
भित्र सबैतिर हेर्योए। पलङमुनि छड्के आँखा लगायो। छेउको मुढामा टुस्स बसेझैं गरेर पूरै कोठा हेरिभ्यायो। म चकित परेँ।
‘के भो सर?' नम्र भएर सोधेँ, ‘चिया पकाऊँ?'
एउटा कुनामा भान्सा, अर्को कुनामा बिस्तरा थियो। चिया पकाउन भान्सातिर दगुर्नुपर्थेन।
‘नाइँ, पर्दैन। खाएरै आएको,' त्यत्ति बोलेर बूढो ठप्प भयो। आँखा चोर खोजेझैं यताउता थिए। म घनघोर अचम्ममा थिएँ, बूढोको उपरी भेग खाली भएछ कि के हो!
ऊ जुरुक्क उठेर निस्कियो अनि छेउको अर्को ढोका ढकढकायो। १० मिनेटपछि निस्किएर अर्को कोठा पुग्यो। एक घन्टाको बीचमा ऊ पाँच वटै कोठा छिरेर निस्कियो।
कारण थाहै पाइनँ। बूढो आफ्नै कुटीतिर लागेपछि छेउतिरका सबैलाई सोधेँ, कसैले भेउ पाएनन्।
दुई दिनपछि बूढो आफैंले ओकल्यो।
‘ह्याँ कसले अर्को फोन सेट ल्याएर राखेको छ भन्ने सुनेको छु। चिनेँ भने सिधै हनुमानढोका पुर्या्इदिन्छु, ख्याल राख्नू!'
बूढाको गर्जन सुनेर हामी तीनछक पर्यौं । मुटुमा कताकता ढ्यांग्रो बज्यो। तर, त्यो ढ्यांग्रो निमेषमै पत्ताएर गयो। मैले सेट ल्याएको भए पो!
त्यसपछि पो बुझेँ– सोहनलाल अस्ति किन छड्के हान्न आएको थियो!
तर, पाँच वटा कोठामध्ये कसैले पनि अर्को सेट ल्याएका थिएनन्। त्यसबारे कसैले सोचेका पनि थिएनन्। बूढाले नयाँ जुक्ति सिकाएर गयो।
बूढाले झुन्ड्याइदिएको फोन सेटजस्तै अर्को सिट किन्यौं दुई जना मिलेर। दिनभरि लुकाउने, राति ढोका बन्द गरेर अर्को सेट जोड्ने। अनि, तहले कुरा गर्ने। बूढोले कहिल्यै सुइँको पाएन।
तर, जब बिल आयो– हाम्रा दिन सकिए।
सोहनलाल फेरि उफ्रिँदै आयो।
‘यो नम्बर कसको हो?' बिल देखाएर उसले वरपरका सबैलाई सोध्यो।
सोहनलालले ०८२ बाट सुरु हुने सबै नम्बरमा चिह्न लगाएको रहेछ। गनेर लेखेछ पनि– कुल संख्या ४२!
अब भने झलझली हनुमानढोका आयो आँखाभरि। छुलुक्क मुतूँलाझैं भयो।
यसो हेरेजस्तो गरेँ। १२ वटा मेरो घरका नम्बर रहेछन्। पाँच वटै कोठामा दाङका मान्छे थिए, त्यसैले डर मलाई मात्रै थिएन। फोन सबैले गर्थे चोरीचोरी। बिलमा सबैका नम्बर थिए।
‘यस्तो झूटो काम गर्ने विद्यार्थी भएर? टीयू पढ्ने मान्छे यस्तै हुन्छन्?' बूढो नराम्रोसँग चिच्यायो। कानै र्याेउँर्याकउँ गरे।
कोही बोलेनन्। जो बोल्थ्यो, रिसमा उही पर्थ्यो।
पुलिस ल्याएर जेल पठाउँछु भन्ने धम्की भने दिएन। उसलाई थाहा थियो– चोरेर फोन गरेकै भरमा पुलिसले दुई छाक भात खुवाउन लैजाँदैनथ्यो।
‘कसैले नभन्ने भए सबैको भाडामा कटाउँछु। मलाई सोझो देखेर हेप्ने?' सोहनलाल एक्लै बर्बराउँदै भर्यािङ झर्यो ।
अब भाडामै कटाउने भनेपछि लुकेर फोन गर्नुको तुक थिएन।

...
फोन काण्डको तीन महिनापछि मेरो रुम पार्टनरकी बहिनी पनि थपिन आइन्। कोठा एउटै थियो। तीन जना कोचिएर बस्नुको सकस उदेकलाग्दो थियो।
बहिनी ११ पढ्न आएकी। कोठाको भाडा मैले तिर्ने सर्त भएकोले पकाएर खुवाउने जिम्मेवारी मेरो थिएन।
बहिनी आइसकेपछि सोहनलालले एक दिन मलाई बोलायो।
‘भाइ बस्नूस्,' नम्र भएर बोल्यो। म टुसुक्क बसैं गलैंचामा।
‘कुर्सीमा बस्नूस् न। चिया खाने?' बूढोले यसो भनेपछि म झस्किएँ। कोठा सरेदेखि ऊ त्यसरी नम्र भएर बोलेको सुनिनँ कहिल्यै।
कोठाका भित्तामा जरायोको सिङ झुन्ड्याएको थियो। लो–बेडको सिधै खुट्टातिर २१ इन्चको टिभी थियो। टिभीको छेउमै डिभिडी प्लेयर। त्यसमाथि कागज।
‘चिया खाने?'
दोस्रोपटक सोधिसकेपछि भनेँ, ‘नाइँ, पर्दैन। भरखर खाएको।'
मलाई सोहनलालको घरमा पानी पनि खानु थिएन। लाग्थ्यो– कुनै दिन त्यही पानीको पनि हिसाब माग्न सक्थ्यो।
बूढाले डिभिडी प्लेयरमाथिको कागज उठायो।
‘हेर्नूस् त एकपटक,' मेरो हातमा थमाउँदै उसले भन्यो, ‘आठ नम्बर पढ्नूस्।'
त्यो त्यही १२ बुँदे कागज थियो। सही पनि मेरै।
आठ नम्बर बुँदामा लेखिएको थियो, ‘एउटा कोठामा दुई जनाभन्दा धेरै बस्न पाइनेछैन। बसेको पाइए कुल भाडाको आधा थप गरिनेछ।'
अब भने मेरो हंशले ठाउँ छोड्यो। महिनामा १२ सय तिर्दा नै म कायल भइसकेको थिएँ। भाडा तिर्ने मेरो जिम्मा भएकोले थपिने पैसा पनि मेरै भागमा हुन्थ्यो। नाभीनेर गाँठो परेझैं भयो एक्कासि। आउँ परेर कटक्क खाएझैं।
त्यहाँ तर्क–वितर्कले केही लछार्नेवाला थिएन। म बोलिनँ पनि। यत्ति भनेँ, ‘सर, विद्यार्थी हौं, मिलेर बस्दा के फरक पर्छ र! महिनामा त्यही सय लिटरजति पानी त हो!'
‘हुँदैन। नियम भनेको नियम हो,' सोहनलाल अलि चर्किएर बोल्यो, ‘एउटा कोठामा तीन जना बसेपछि पैसा छ'सेको हिसाबले तिर्नुपर्छ।'
म चुपचाप निस्किएँ।
त्यसको एक हप्तापछि भाइ दीपक आयो काठमान्डू, फिजिक्स पढ्न।
अब कोठामा चार जना अट्ने ठाउँ थिएन। मेरो रुम पार्टनर बहिनी लिएर अर्को कोठा सर्योँ। त्यसको अर्को एक हप्तापछि छेउको अर्को कोठा खाली भयो। अर्घाखाँचीबाट दिदी अनिता आई– आफू पढ्न, भान्जालाई पढाउन।
जनआन्दोलन भयो। हामीले पनि कीर्तिपुरमा ढुंगा हान्यौं।
त्यसपछि नेपाल एफएमको समाचार एजेन्सीमा जागिर पाएँ– ६५ सय रुपैयाँ तलबमा। अफिस थियो रविभवनमा। कीर्तिपुरबाट कालिमाटी गएको सात रुपैयाँ थियो गाडीभाडा– कार्ड देखाउँदा। भाडाबाट हरेक दिन कम्तीमा छ रुपैयाँ सिक्का फिर्ता आउँथे। ती सिक्का माटाको खुत्रुकेमा हाल्थेँ।

...
म जसोतसो मान्छेसँग सम्बन्ध गाँस्दिनँ। दाइ, दिदी भन्न मनले छिट्टै मान्दैन। सोहनलाललाई सिधै सर भनेर बोलाउँथेँ। तर, व्यवहार हेर्दा सर पनि भन्न मन लागेन। ५६ वर्ष काटेको बूढोलाई कसरी दाइ भन्नू! अंकल भनूँ त आफ्नै बाको दाजु वा भाइ थिएन।
छेउछाउ बस्नेले सोहनलाललाई ‘बा' भन्थे, बूढीलाई ‘माँ'। भाडामा बस्नेले बूढा घरबेटीलाई यसैगरी सम्बोधन गर्दा रहेछन्।
तर, उनीहरू न मेरा ‘बा' थिए, न ‘माँ'! बरु बाजे भन्न सक्थेँ। अनि, बूढालाई बोलाउँदा ‘बा' त भन्थेँ तर मनमनै ‘जे' पनि थपेर बाजे बनाउँथेँ। ‘मा' भनेर बोलाउँदा मनमनै ‘इली' थपेर ‘माइली' बनाउँथेँ।
सुरुसुरुमा ट्वाइलेटमा पानी आउँथ्यो। सोहनलालले दिनमा दुईपटक मोटर चलाइदिन्थ्यो– बिहान र साँझ। मान्छे थोरै थिए, पानी धेरै। तर, तीनतले घर चारतले भएपछि मान्छे थपिँदै गए, पानी घट्दै गयो। खानेपानी हरेक दिन आउँथ्यो तर खानमात्रै पुग्ने। एउटा कोठालाई दुई बाल्टिनको कोटा। धारामा पानी नआउँदा सोहनलालले ट्यांकरबाट पानी मगाउँथ्यो अनि भाडाको चिट दिँदा त्यो पैसा पनि थप्थ्यो। यो १२ बुँदे सहमतिभन्दा विपरीत थियो।
एउटा बुँदामा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ।'
त्यही १२ बुँदे लिएर बूढाकहाँ गयौं पाँच जना भाडावाल। उसैगरी देखायौं, जसरी सोहनलालले मलाई एकपटक देखाएको थियो।
बाह्रौं बुँदा देखाएर मैले भनेँ, ‘तपाईंले पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गर्ने लेख्नुभा'छ, अनि हामीसँग पैसा किन माग्नुहुन्छ?'
म पूरै अक्मक्किएर बोलिरहेको थिएँ। सोहनलालको व्यक्तित्व अजंगको थियो, मलाई डर लाग्थ्यो कताकता।
अनि उसले हक्की पारामा सपाट उत्तर दियो, जुन हामीले सोचेभन्दा कता हो कता नमिठो थियो।
‘आपूर्ति गरिने भनेको छ, गरिदिएकै छु, पैसा मैले तिर्ने लेखेको छ र त्यसमा?'
हामी पाँचै जना मुखामुख भयौं। कसले के भनोस्! सबैलाई खेरेर लैजाने म नै थिएँ। पाँचमध्ये दुई जना बूढाका साख्खै थिए। बा...माँ... भनीभनी उनीहरूले बूढाबूढीको मन जितेका थिए। मलाई भने उनीहरू गुलामजस्ता लाग्थे।
फेरि चुपचाप फर्कियौं।
त्यसपछि ट्वाइलेटमा कहिल्यै पानी आएन। आफूलाई चाहिए इनारबाट तानेर ल्याउनुपर्थ्यो। इनारमा कल जोडिदिएको थियो, एकपटक भाँचिएपछि अर्कोपटक कहिल्यै नयाँ फेरिदिएन सोहनलालले।

...
फागुनमा एक वर्ष भएपछि सोहनलालले फेरि बोलायो आफ्नै कोठामा। सोहनलालले हरेक पटक बोलाउँदा मेरो मन काम्थ्यो। मेरो भलाइका लागि उसले कहिल्यै बोलाएको थिएन।
चिया सोध्यो, खान्नँ भनेँ।
वरिपरि आँखा दौडाएँ, लोबेडमा गएर टक्क अडिए। कागज थियो, सायद त्यही १२ बुँदे! मनमा फेरि चस्का हान्यो। दिमागमा १२ वटै बुँदा घुमे एकैपटक।
‘एक वर्ष पनि भयो तपाईंहरू आएको,' सोहनलालले कागज निकालेर छैटौं बुँदामा चोर औंला राखेर देखायो, ‘के छ विचार?'
छैटौं बुँदामा ‘हरेक वर्ष १० प्रतिशतका दरले कोठाभाडा वृद्धि गरिनेछ' लेखिएको थियो।
मनमा बुल्डोजर कुद्यो।
जागिरमा एक प्रतिशत पनि तलब बढेको थिएन। ६५ सय तलबमा भाइको र आफ्नो सम्पूर्ण खर्च अडेको थियो। रुम पार्टनर सरेर गएपछि खाने कुरा सबै आफैं किन्नुपर्थ्यो। महिनामा ३० दिनको ठाउँमा ६० दिन भइदिए कति हुन्थ्यो! सोच्थेँ।
सोहनलालले सिधै घुच्चुकमा हिर्काएझैं भयो।
‘त्यसै भाडा बढाउन पाइन्छ? सुविधा के छ? जे मन लाग्छ, त्यही गर्न पाइन्छ घर छ भन्दैमा?' नाभीनेरबाट सुलुलु बग्दै आएर घाँटीमा ठ्याप्प अड्किए शब्द। जिब्रोसम्म आउनै मानेनन्। अनि त्यही बाटो फर्किए भित्रै।
‘भाडा त बढाउने ठिक छ, ट्वाइलेटमा पानी नि?' भएभरको ऊर्जा खेरेर सोधेँ। सोहनलालसँग यसरी सोझै मुख फर्काएको थिइनँ।
एकछिन गम्म पर्योे। चिच्याएर बूढीलाई चिया ल्याउन अह्रायो।
‘ट्वाइलेटमा पानी आपूर्ति गरिनेछ भनेर कहाँ लेखेको छ र लेनिनजी?' उसले कागजी कुरा गर्योय, ‘तैपनि दिइराखेकै थियौं, मान्छे धेरै भएर पुर्यारउन सकिएन। त्यत्रो इनार खनिदिएको छ त!'
एकैसासमा उसले भएभरको कुरा सिध्यायो। दमको रोगी भए पनि खरर बोल्यो।
बिहान–बेलुकी मोटर चलाउने भनेर उसले बत्तीको पैसा पनि प्रतियुनिट १२ रुपैयाँ लिन्थ्यो, जबकि आठ रुपैयाँ थियो दर।
‘ट्वाइलेटमा पानी दिन पनि कागजमै लेख्नुपर्छ र?' अलि नम्र भएर सोधेँ, ‘कागजी कुराभन्दा पनि व्यावहारिक कुरा हेर्नुपर्दैन र बा?'
‘चित्त बुझ्दैन भने छाडेर जाँदा हुन्छ, जबर्जस्ती बसालेको होइन केरे!'
मेरा कुरा हावामै उडाएर सोहनलालले वर्षौंदेखि रटेको वाक्य ओकल्यो। उसले त्योभन्दा बढी भन्न सक्ने कुरा थिएनन् पनि केही। सजिलो पनि थियो, मैले छाडे अर्को दिन अर्कै मान्छे आइसक्थ्यो कोठा खोज्दै।
म फेरि चुपचाप निस्किएँ। भर्या ङनेर पुग्दा बूढी चिया लिएर आइसकेकी थिई। गिलास एउटामात्रै थियो।
उसले आफ्नै लबजमा केके भनी, बुझिनँ।

...
एउटा कोठामा म र भाइ, अर्कोमा भान्जा र दिदी बस्थ्यौं। भिनाजू दुबई थिए। जेठो भान्जो तीनमा पढ्थ्यो। अफिसबाट फर्किंदा ऊ ढोकैमा उभिएर मलाई पर्खिरहेको हुन्थ्यो। गोजीबाट सिक्का झिकेर दिएपछि खुरुरु दौडिएर खुत्रुकेमा खसाल्थ्यो– हरेक दिन। त्यो खुत्रुके ऊ आफैंले किनेर ल्याएको थियो।
त्यो एक दिन–
भान्जो अनमोल दौडिँदै आएर मछेउ बस्यो र भन्यो, ‘मामा, स्पेनको जर्सी किन्दिनू न।'
२०१० को विश्वकपमा स्पेनको सरगर्मी चल्दा उसले मलाई जर्सीको फर्माइस राख्यो। ठाडै भनेँ, ‘किन्दिन्नँ।'
ऊ चुपचाप निस्कियो।
भान्जो यसरी थुप्रैपटक निस्किएको थियो मलिन अनुहार लिएर। उसलाई हरेकचोटि थाहा हुन्थ्यो– उसले मागेका चिज म केही किन्दिन्नँ। र, पनि बिर्सिएर सधैं छेउ आएर त्यसैगरी माग्थ्यो केही न केही।
‘मामा, ड्यांगो जुत्ता किन्दिनू न।'
म पुलुक्क उसको अनुहार हेर्थें र भन्थेँ, ‘किन्दिन्नँ। पैसा छैन।' उसले फर्माइस राख्दा मसँग गोजीमा पैसा हुन्थ्यो। भएर पनि उसले मागेका केही किन्दिन्नथेँ। अभाव के हो, बुझोस् न।
र, उसले फेरि माग्यो।
‘मामा, २० रुप्पे दिनूस् न, बल किन्छु।'
फेरि उसैगरी पुलुक्क अनुहारमा हेरेँ। गोजी छामेँ। अलिकता पैसा थियो। निकालेर गनेँ– ६५ रुप्पे। टकटक गनेर आठ रुप्पे दिएँ र भनेँ, ‘जा, गएर खुत्रुके किनेर ल्या। दिनदिनै पैसा जम्मा गर्, मसँग माग्नैपर्दैन।'
ऊ खुरुखुरु गयो। १५ मिनेटपछि खुत्रुके किनेर ल्यायो। थपक्क दराजमाथि राख्यो। फुच्चे थियो, कुर्सीमै चढेर राख्यो र बाहिर गयो।
अनि मैले ३० रुप्पे राखिदिएँ उसले नदेख्ने गरी।
त्यसपछि हरेक दिन थुप्रिएका सिक्का उसले त्यही खुत्रुकेमा खसाल्थ्यो। सधैं आएर खुत्रुके उचाल्थ्यो र भन्थ्यो, ‘मामा कहिले भरिन्छ?'
म भन्थेँ, ‘एक महिना राख् न अझै।'
उसले हरेक दिन गन्दै एक महिना पुर्यासयो। तर, त्यसबीचमा अनेक काण्ड भइसकेका थिए।
सोहनलाललाई दमले च्याप्दै लग्यो, ओच्छ्यानको ओच्छ्यानमै। अक्सिजन सिलिन्डर किन्नुपर्योर भनेर बूढी च्याँटि्ठँदै कोठाअघि आएर उभिन्थी एक गते। अफिसले तलब एक गते नै दिए उसको मुखमा १३ सय २० ले हान्थेँ हरेक महिना।
तर, मैले तीन महिनामा एकपटक तलब पाउँथेँ। त्यही पनि भनसुन गरेर। बूढी ढोकाअघि उभिएर च्याङच्याङ कराउँदा के गरूँ कसो गरूँ हुन्थ्यो। नेपालीमै बोले त प्रतिवाद पनि गर्दो हुँ। ऊ बोल्ने आफ्नै लबजमा, नेपाली नबुझ्ने!
हरेस खाएर भनेँ, ‘१० गते नहुँदै पैसा दिन सक्दिनँ। यत्रो घर बनाएर १३ सयमा अड्किने भए अड्किराख।'
भाषा नबुझे पनि उसले मेरो हाउभाउ हेरेर लख काटी– यसले पैसा दिन्न। भए पो दिनू! केही नबोलेर बाहिर निस्की। १० मिनेटपछि सोहनलाललाई डोर्यारउँदै ल्याई।
ठसठस कन्दै सोहनलाल बोल्यो, ‘भाइ पैसा चाहियो।' अजंगको अनुहार लत्रिएको थियो। बल गरेर उठाउँदै उसले मेरो आँखामा आँखा गाड्यो।
‘बा, अहिले छैन। एक–डेढ हप्ता लाग्छ, अफिसले पैसा दिएको छैन,' म लत्रिएर बोलेँ।
स्वाँस्वाँ गर्दै सोहनलाल बोल्यो, ‘जसरी पनि चाहियो, अक्सिजन किन्नुछ।'
झोँक चल्यो।
‘हुँदै नभए'सि कसरी दिनू बा? चोर्न भएन,' अलि कड्किएर बोलेँ।
‘नभए कोठा सरेर जानू। पैसै तिर्न नसक्ने के कोठा लिएर बस्नू?'
चस्स बिझायो। बिझाएको मात्रै होइन, रिसले भननन्न रिंगटा लागेझैं भयो। तर, केही बोलिनँ। दमले थ्यालथ्याल भएको बूढालाई केही भने त्यहीँ ढल्थ्यो सास बढेर।
‘भोलिसम्म जसरी पनि चाहिन्छ, अरू थाहा छैन,' जाँदाजाँदै सोहनलालले अल्टिमेटम दियो। मैले हुन्छ पनि भनिनँ, हुन्न पनि।
त्यति बेला सबैको गोजी रित्तिएको थियो। दिदीलाई भिनाजूले पठाइदिएका थिएनन्, मेरो तलब आएको थिएन।
एक गते नै चिर्कटो लिएर आउने सोहनलालको अनुहार कताकता शनि ग्रहबाट झरेको एलियनजस्तै लाग्यो। न कुनै संवेदना, न कुनै मानवता। अमानव।
त्यसैले बिरानो काठमान्डू र बिरानो कीर्तिपुरको यो बडेमानको डेरा कहिल्यै घरजस्तो लागेन। भुटानी शरणार्थीभन्दा पनि ठूलो पीडामा बस्यौं हामी।
लाग्यो– सोहनलाल हाम्रै महिनावारी तलबले बाँचेको छ। हामी नभए त उसको अक्सिजन सिलिन्डर पनि चल्दो रहेनछ। कमसेकम हाम्रै कारणले उसको सास त अडिएको छ!
तर, उसले कहिल्यै बुझेन– भाडा बुझाउन सक्ने ल्याकत नभएकाहरू काठमाडौं छिरेर पक्की घरमा बस्दैनन्। वरपर साथीभाइ सबैतिर चहारेर १३ सय २० पुर्यानएर पठाइदिएँ दिदीको हातबाट। मलाई सोहनलाल र उसकी बूढीको अनुहार हेर्नु थिएन।

...
भाडाको खड्गो टारेको पाँच दिनपछि बिहानै कोठामा ग्यास सकियो। ग्याससँगै सबैका ओठमुख सबै सुके। अफिसले दुई महिनादेखि तलब दिएको थिएन। दिदीसँग पैसा थिएन। भाइ– पढ्ने विद्यार्थी। माग्नुपर्ने ठाउँ कतै बाँकी थिएनन्। मागेजति पैसा सोहनलालले सोहोरिसकेको थियो। ग्यासजस्तो कुरा उधारो पनि पाइन्थेन। १३ सय ५० पर्थ्यो सिलिन्डरको।
वरपर चहार्यौंस। सबै विद्यार्थी भएकाले हविगत उस्तै थियो। ग्यास नभए भातै पाक्ने अवस्था थिएन। त्यसमाथि सोहनलालले कोठा छिर्नुअघि नै चेतावनी दिएको थियो, ‘स्टोभ बाल्न पाइन्न है। घर भर्खर रंगाको छ, भित्ता कालो भयो भने आफैं रङ लगाउनुपर्छ।'
उपाय केही थिएन। घरबाट पैसा मगाउने आँट थिएन।
भान्जो होमवर्क गर्दै थियो। दुई घन्टापछि भात खाएर कसरी स्कुल जाला?
गाइँगुइँ सुन्यो। होमवर्क थन्काएर जुरुक्क उठ्यो।
वल्लो कोठामा कुर्सी ठड्याएर दराजमाथिको खुत्रुके निकाल्यो। झरेर भुइँमा बिस्तारै बजार्यो । सिक्कैसिक्काले भरिएको खुत्रुके झर्याुमझुरुम भयो निमेषमै।
‘मामा, आउनूस् त गनम्,' मलाई बोलाएर गन्न थाल्यो आफैं।
म पनि मिसिएर गनेँ। दिदी, भाइ, प्रज्ञा सबैले गने– ११ सय ४५ रुप्पे रहेछ। भान्जोले प्लास्टिक ब्यागमा पोको पारेर मलाई थमाइदियो, ‘ल मामा, ग्यास किन्न जानूस्।'
सबै मुखामुख भयौं। बोल्न सक्ने कोही थिएनन्। दिदी पिलपिल गरेर अर्को कोठा गई। म पैसाको पोको समातेर बाहिर निस्किएँ।

0 comments:

Post a Comment

plz give your view